२९ चैत्र २०८१, शनिबार

सदरमुकामको प्रवेश गेटमा निर्दल झल्किने रङ लगाएको भन्दै आपत्ति

Logo
हरि शर्मा (नवलपरासी) बिहिबार, चैत्र २७, २०८१
Nilo gate np

परासी : सदरमुकामको प्रवेशद्वारमा बनाइएको गेटमा निर्दल झल्किने रङ लगाएको भन्दै नवलपरासीका राजनीतिक दलका नेताहरूले नगरपालिकासँग आपत्ति जनाएका छन्। 

नवलपरासीको सदरमुकाम परासी प्रवेश गर्ने स्थानमा रहेको पुरानो गेटलाई अहिले रामग्राम नगरपालिकाले रंगरोगन सुरु गरेको छ। यसअघि निलो रहेको गेटलाई अहिले पहेँलो बनाएर रंगरोगन सुरु गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्। 

तीन दिनभित्र पहेँलोलाई नहटाए आफूहरूले निलो रङ नै बनाई दिने भन्दै उनीहरूले नगरपालिकालाई अल्टिमेटम दिएका छन्। 

४२ वर्षअघि पहेँलो रङमा गेट निर्माण गरिएको थियो। गेटमा निर्दलीय व्यवस्थाको रङ रहेको भन्दै २०४६ सालमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले पहेँलोलाई हटाएर निलो बनाएका थिए। २०३६ सालमा पहेंलो निर्दल र निलो रङ बहुदलको राखेर जनमत संग्रहको चुनाव भएको थियो। 

‘निर्दलविरुद्ध भएको आन्दोलनका क्रममा गेटमा रहेको पहेँलो रङलाई हटाएर निलो बनाइएको हो। अहिले फेरि पहेँलो बनाइँदा लोकतन्त्रवादीको आन्दोलनमाथिको अपमान हो। त्यसैले तीन दिनभित्र निलो नबनाइए स्थानीय जनताको सहभागितामा गेटलाई निलो बनाउने छौं,’ जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने। 

यसअघिको गेटमा भएको निलो रङ बहुदल आन्दोलनसँग मात्र जोडिएको नभई सरकारी योजना र परासीको पहिचानका रूपमा पनि रहेकाले पुनः निलो रङ कायम हुनुपर्ने नेपाली कांग्रेस महासमिति सदस्य राधेश्याम पाठकले बताए।

लोसपाका केन्द्रीय सदस्य पुरन चौधरीले पनि सबैतिर निलो गेट भनेर पहिचान भएकाले नगरपालिकाले सबैको भावनाअनुसार निलो नै बनाउनुपर्ने बताए। नगर प्रमुख धनपद यादवले पहेंलो रङ बनाउनुमा कुनै राजनीतिक कारण नभएको बताए। गौतम बुद्धको एक मात्र अस्तुधातु रहेको रामग्राम स्तूप छ। यही स्तूपको नामबाट नगरपालिकाको नामकरण भएको हो। ‘रामग्राम बुद्धसँग जोडिएको र पहेंलो रङ बुद्धसँग सम्बन्धित रहेकाले प्रवेश गेटमा पहेंलो रङ लगाइएको हो। अरू कुनै कारण छैन’, मेयर यादवले भने। 

नयाँ घर बनाउनेहरूलाई पहेंलो रङ लगाए नक्सा पासमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको उनले बताए। 

प्रतिक्रिया
हाम्रो बारे

नेपाल संचार मिडिया प्रा.लि. द्वारा संचालित अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग –
प्रेस काउन्सिल दर्ता न:–
कम्पनी दर्ता न:–
स्थायी लेखा नम्वर –621202700

हाम्रो टीम

संचालक: अनिश चौधरी

कार्य सम्पादक: अनुज चौधरी

प्रधान सम्पादक तथा सम्पादक: नन्दलाल कंवर

सम्पर्क

नेपाल संचार मिडिया प्रा.लि.
सरावल ३, गोईनी पश्चिम नवलपरासी ( ब.सु.प.)
9821060380
newsdesk@[email protected]