

पाँच दिने औपचारिक भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले अझै दुई रात नयाँ दिल्लीमै बिताउने छिन्। मुख्य राजनीतिक भेटघाट सोमबार नै सकिएकाले भ्रमणको बाँकी समय उनी व्यक्तिगत काममा ज्यादा व्यस्त हुनेछिन्।
परराष्ट्रमन्त्री राणाले मोदीसँगको शिष्टाचार भेटमा नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्।
समकक्षी जयशंकरसँगको द्वीपक्षीय भेटमा भने उनले नेपाल–भारत सम्बन्धका विविध विषय उठाएकी थिइन्। भ्रमणबारे दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई रुट, बाढी नियन्त्रण, पञ्चेश्वर परियोजना, खेल, सीमा पूर्वाधार जस्ता विषय उठेका थिए।
‘उहाँले भेटमा सीमाबाहेक अरु ससाना सबै विषयमा कुरा उठाउनु भएको छ,’ भट्ट भन्छन्, ‘यसले दुई देशका बीचमा ‘कन्फिडेन्स’ विकास भयो। यसले भोलि फेरि उच्च तहमा वार्ता गर्नलाई सहयोग पुर्याउँछ।’
लिपुलेक, कालापानी, सुस्ता लगायतका ठाउँमा भारतसँग नेपालको सीमा विवाद छ। यी विषयमा पछिल्लो समय छलफल नै हुन सकेको छैन। परराष्ट्रमन्त्री राणा पनि यो विषयमा मौन बसिन्। सबै विवादलाई समग्रमा हल गर्नेगरी गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन बुझ्न पनि भारतले अनाकानी गरिरहेको छ।
त्यस्तै नेपालले लामो समयदेखि नेपालगन्ज, भैरहवा, पोखरा र धनगढीका विमानस्थलका लागि हवाई रुटको विषय उठाउँदै आएको छ। सीमावर्ती यी विमानस्थलबाट उडान र अवतरण गर्दा भारतीय आकाश समेत छुने भएकाले त्यसमा भारतको अनुमति चाहिन्छ। भारतले यसमा पनि आनाकानी गर्दै आएको छ।
यी समग्र विषयमा आगामी दिनमा हल खोज्नका लागि परराष्ट्रमन्त्री राणाको भ्रमणले विश्वासको वातावरण बनाएको अर्का विश्लेषक बस्न्यातको भनाइ छ।
‘मलाई के लाग्छ भने अहिलेको भ्रमणले त्यो वातावरणचाहिँ बन्यो,’ उनको भनाइ छ, ‘तर, मुख्य प्रश्न अब आउने दिनमा यो वातावरणलाई हामी कसरी दुई राष्ट्रको फाइदाका निम्ति प्रयोग गर्छौं भन्ने हो।’