

बुटवल । तिनाउ गाउँपालिका ६ पाटनकी मुना सारुलाई मस्याम माध्यमिक विद्यालय पुग्न घरदेखि झण्डै तिन घण्टा पैदल हिंड्नुपथ्र्यो। कक्षा ५ सम्म पाटन आधारभुत विद्यालयमा अध्ययन गरेकी सारुलाई माथीको कक्षा पढ्न कित त तिन घण्टा पैदल हिंडेर विद्यालय पुग्नुपथ्र्यो कि त विद्यालय छोड्नु भन्दा अर्को विकल्प थिएन।
अहिले भने उनि विद्यालयकै छात्रावासमा बसेर पढ्न पाएकी छन्। तिनाउ ६ अर्खलेकी विपिसा थापाले आठ कक्षासम्म श्री आधारभुत विद्यालय अर्खलेमै पढिन्। अहिले नौं कक्षामा पढिरहेकी विपिसा पनि छात्रावासमै बसेर पढ्दै छन्।
कक्षाकोठामा विद्यार्थीको संख्या अत्यन्त न्यून हुँदा भएका विद्यार्थीहरुको शिक्षाको गुणस्तर समेत घट्दै गएपछि तिनाउ गाउँपालिकाले शैक्षिक सुधारको प्रयास स्वरुप ‘बिग स्कुल’को अवधारणा अगाडी बढाएको हो। विद्यालयहरुको समायोजन र कक्षा घटुवा गर्दा त्यहाँका विद्यार्थीलाई टाढाको विद्यालयमा जानुपर्ने भएपछि उनिहरुलाई गाउँपालिकाले निशुल्क छात्रावास उपलब्ध गराउने जनाएको थियो।
वडा नं. ६ का पाटन र श्री आधारभूत विद्यालयका विद्यार्थीलाई मस्याम माविमा छात्रावासको व्यवस्था गरि त्यसको शुरुवात गरेको छ। गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार विद्यार्थी संख्या कम भएका पाटन आधारभूत विद्यालय र श्री आधारभूत विद्यालय अर्खलेको कक्षा कटौती गरि मस्याम माविमा गाभिएको हो।
अहिले मस्याम माविमा १६ जना छात्रा र १४ जना छात्र गरि ३० जना विद्यार्थीलाई विद्यालयमै छात्रावासको व्यवस्था गरिएको छ। कक्षा कटौती गरिएका पाटन र श्री आधारभूत विद्यालयबाट कक्षा ६ देखि ९ सम्म भर्ना हुन गएका विद्यार्थीहरु अहिले छात्रावासमा बसेर अध्ययन गरिरहेका छन्।
घरदेखि टाढाको विद्यालयमा पढ्नु परेपनि विद्यालयमा निशुल्क छात्रावास संचालन गरिएपछि पठनपाठनमा सजिलो भएको विद्यार्थीहरु बताउँछन्। पाटनबाट मस्याम माविमा अध्ययन गर्न गएका अनुप गाहाले पहिले घरदेखि विद्यालय जान र विद्यालयबाट घर जान लाग्ने समय अहिले छात्रावासमै बसेर पढाईमा लगाउन पाएको बताए।
विद्यालयमा छात्रावासको व्यवस्था गरिएपछि कक्षा ८ पछि विद्यालय छोड्ने विद्यार्थीको दर समेत घट्ने गाउँपालिकाको विश्वास छ। ‘विद्यालयहरुको समायोजन र कक्षा घटुवा भएपनि शिक्षाको पहुँचबाट विद्यार्थी बिमुख नहुन्, शिक्षामा सबैको पहुँच पुगोस् भनेर नै टाढाबाट जाने विद्यार्थीलाई छात्रावासको व्यवस्था गरेका हौं। उनिहरुलाई कक्षा १२ अध्ययन गर्दा सम्म नै निशुल्क छात्रावासको व्यवस्था हुन्छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने।
आवासीय छात्रावास कार्यक्रमले छोराछोरीलाई शिक्षा प्रदान गर्ने चिन्ताबाट अभिभावकलाई पनि मुक्त राख्ने श्रेष्ठले दावी गरे। विद्यालयमा रहेको एउटा भवनमा छात्रावास संचालन गरिएपनि त्यसको लागि आवश्यक बेड, विछ्यौना, दराज, भान्सा लगायतका लागि चाहिने सामग्री र कर्मचारीहरुको व्यवस्था गाउँपालिका आफैले गरिदिएको छ।
छात्रावासमा छात्रा र छात्रको लागि अलगअलग दुईजना होस्टल वार्डेन, सफाईकर्मी, भान्से र एकजना चौकिदारको व्यवस्था गाउँपालिकाबाटै गरिएको छ। त्यस्तै छात्रावासमा बस्ने विद्यार्थी र कर्मचारीको लागि चाहिने दैनिक रासन समेत गाउँपालिकाबाट उपलब्ध हुँदै आएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले जानकारी दिए।
छात्रावासमा बस्न थालेपछि विद्यार्थीहरुको पढाईको गुणस्तर समेत सुधार हुँदै गएको प्रधानाध्यापक पाण्डेले दावी गरे। ‘अहिले छात्रावासमा बसेका सबै विद्यार्थी पाटन र अर्खलेका हुन्, पाटन र अर्खलेबाट यहाँ आउन दुईदेखि तिन घण्टा समय लाग्छ। आउँदा र जाँदा गरी दिनको पाँच ६ घण्टा बाटोमा बित्ने गरेकोमा अहिले त्यो समयमा छात्रावासमै बसेर पढ्न पाएका छन्,’ उनले भने। छात्रावासमा समुहमा बसेर छलफल गर्दा कमजोर विद्यार्थीलाई जान्ने अवसर समेत मिलेको उनले बताए।
तिनाउ गाउँपालिकामा यसअघि पनि दुईवटा विद्यालयमा छात्रावासको व्यवस्था गरिएको थियो। वडा नं.२ दोभानस्थित दोभान मावि र वडा नं. ३ झुम्सास्थित तिलोत्तमा माविमा यसअघि नै स्थानीय स्तरबाटै छात्रावास संचालन भईरहेको गाउँपालिकाले जनाएको छ। आवासीय रुपमा बसेर अध्ययन गर्ने विद्यार्थीको शैक्षिक उपलब्धि बढी हुनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृिद्धमा सहयोग पुग्ने गाउँपालिकाले दावी गरेको छ।