

कपिलवस्तु । कपिलवस्तुका भूमिहीन तथा सुकुम्बासीहरूले आज सोमबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने भएका छन्। गत साउन २ गते बुद्धभूमि नगरपालिका–२ बक्दरियामा सुकुम्बासीमाथि डिभिजन वन कार्यालयले डोजर चलाएको विरोधमा उनीहरूले राजमार्ग बन्द गर्न लागेका हुन्।
जिल्लाभरका सुकुम्बासीको संयुक्त सङ्गठन संयुक्त सुकुम्बासी, अव्यवस्थित भूमि संरक्षण समितिले आइतबार साँझ बाणगंगामा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको हो। समितिका संयोजक कृष्ण घिमिरेले बन्दमा १० हजार जना सहभागी हुने दाबी गर्नुभएको छ।
गोरुसिंगे चोकमा बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा शान्तिपूर्ण बन्द हुने बताइएको छ। अत्यावश्यक सवारीबाहेक अन्य सवारी पूर्णरूपमा बन्द गरिने चेतावनी दिइएको छ।
पीडितहरूले आफूहरूले लामो समयदेखि बसोबास गरेको ठाउँबाट डिभिजन वन कार्यालयले अमानवीय तवरले उठिबास लगाएको गुनासो गरेका छन्। घर, गोठ, खेतबारीसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको उनीहरूको दाबी छ। सुकुम्बासीहरूले राजनीतिक दल कतैबाट साथ नपाएपछि बाध्य भएर बन्द गर्न लागेको बताएका छन्।