

यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षमा नयाँ सवारी दर्ता हुने संख्या केही घटेको बताउँदै राजस्व संकलन आव २०७९/८० हाराहारी भएको जिल्लास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख मिलनबहादुर केसीले बताउनुभएको छ ।
‘गत आवमा सवारीसाधन करबापत २३ करोड ८६ लाख पाँच हजार तीन सय १३, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत पाँच करोड ६ लाख ५२ हजार नौ सय १८, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३८ लाख ४६ हजार चार सय ३० र अन्य प्रशासनिक सेवा शुल्कवापत रु आठ लाख दुई हजार ६९० राजस्व संकलन भएको छ’, उहाको भनाई छ ।
प्रमुख केसीका अनुसार गत आवमा कार्यालयमा विभिन्न प्रकृतिका एक हजार सात सय २७ सवारीसाधन दर्ता भएका छन्। आव २०७९÷८० मा कुल सात हजार आठ सय ३८ सवारीसाधन दर्ता भएकामा गत आव छ हजार एक सय ११ वटा सवारीसाधन कम दर्ता भएको जानकारी दिनुभएको छ ।
उनका अनुसार आव २०७९/८० मा ६ हजार ६८३ दुईपांग्रे सवारीसाधन दर्ता भएकामा गत आवमा एक हजार ४८९ वटा दर्ता भएका छन् ।यातायात व्यवस्था कार्यालयमा गत आवमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिखित परीक्षामा सहभागी भएकामध्ये ७० दशमलव ७२ प्रतिशतले चालक अनुमतिपत्र पास गरेको कार्यालय प्रमुख केसीले बताउनुभएको हो।